कर्णाली प्रदेश सरकार
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कृषि विकास निर्देशनालय
बागवानी विकास केन्द्र
दार्मा, हुम्ला
हुम्ला जिल्लामा वागवानी विकासको मुख्य उद्देश्य लिएर नेपाल सरकारले २०२८ साल मंसिर ९ गते यस फार्मको स्थापना गरेको हो । वागवानी फार्म, दार्माको नाममा परिचित यस फार्मबाट स्थापना कालदेखि नै शितोष्ण फलफूलहरु विशेषतः स्याउ र ओखर को विरुवा उत्पादनको साथै स्थानीय स्तरमा बगैंचा विस्तारको लागि प्राविधिक सेवाटेवाका कार्यहरु गर्दै आएको छ । यसै बीच आ.ब. २०४९/५० देखि २०५२/५३ भाद्र मसान्तसम्म यो फार्म निजीकरण (लिज) मा समेत गएको थियो । स्थानीय समुदायको असन्तुष्टी एवं दवाव पश्चात् आ.ब. २०५२/५३ को आश्विन १ गतेबाट कृषि विभागको पुनः प्रत्यक्ष संचालनमा आएता पनि जनशक्ति र बजेट व्यवस्था हुन नसकेकोले २०५३ आषाढ मसान्तसम्म जिल्ला कृषि विकास कार्यालय, हुम्लाको साधारण रेखदेखमा संचालन हुन गएको थियो ।
आ.ब. २०५३/५४ मा फलफूल विकास महाशाखाको अग्रसरतामा बजेट व्यवस्था भए पश्चात् कर्मचारीहरुको व्यवस्था नभएसम्मका लागि विभिन्न फार्म/केन्द्रहरुबाट प्राविधिक कर्मचारीहरु काजमा सरुवा गरी कार्य संचालन गराइएको थियो भने २०५८ साल चैत्र महिना देखि कुल १३ जना कर्मचारीहरुको दरबन्दी श्रृजना गरी कार्य संचालन हुँदै आईरहेकोमा २०६१ बैशाख देखि लागू भएको नयाँ विभागीय संरचना अनुसार १५ जना कर्मचारीहरुको दरबन्दी कायम भई यस फार्मको नाम आलुबाली विकास केन्द्र रहन गएको र हाल संघीयता पछि नयाँ प्रदेशको संरचना अनुसार ६ जना कर्मचारीहरुको दरबन्दी श्रृजना गरी २०७७ साल देखि कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय अर्न्तगत रहने गरी वागवानी विकास केन्द्र दार्मा हुम्लाको नामले यस फार्मको प्राविधिक, आर्थिक एवं प्रशासनिक कार्य संचालन गर्दै आई रहेको छ ।